मकवानपुर । मकवानपुरको हेटौंडा सामुदायिक आँखा अस्पतालमा ७० जनाको आँखाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। जिल्लाको बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी र बाराको प्रस्टतामा गरिएको शिविरबाट मोतियाबिन्दु पहिचान भएका ७० जनाको शल्यक्रिया गरिएको हो ।
अस्पतालले हरेक बर्ष ३ देखि ५ स्थानमा आँखा शिविर गरेर आँखाको समस्या पहिचान गर्ने र उपचारमा सघाउने गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख शुधिर श्रेष्ठले बताए ।
उनका अनुसार मोतिबिन्दुको मात्रै बर्षमा २ हजारदेखि २५ सय जनाको यहाँ शल्यक्रिया हुने गरेको छ । अन्यसमेत गरि ५ हजार जनाको शल्यक्रिया गर्ने गरेको उनले बताए।
आँखाको समस्या भएर उपचारमा आउने मध्ये ३० प्रतिशतमा मोतियाबिन्दु हुने गरेको अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले बताए। जसमा महिला ६५ प्रतिशतको हाराहारीमा भेटिने गरेका छन्। यहाँ मकवानपुर, बारा, महोत्तरी जिल्लाका र भारतीय नागरिकसमेत उपचारमा आउँछन् ।
सामान्यतया आँखामा मोतियाबिन्दु भएपछि ८ देखि १० हजार खर्च लाग्छ। शिविरबाट पहिचान भएका बिरामीको आँखा नि:शुल्क शल्यक्रिया गर्दै आएको छ। यो अस्पतालमा दैनिक ३ सय जनाले सेवा लिने गरेका छन् ।