NEWSHOUSENEPAL - 1668952086

के बालेन्द्र साह र रवि लामिछाने एकै विचारका हुन् ? दुवैबाट प्रदेशमा निर्वाचन बहिस्कार

  • तुलसी बास्कोटा
  • ४ मंसिर २०७९, आइतवार

काठमाडौं । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएपछि हाम्रो देश नेपाल संघीयतामा गयो । त्यसलाई कार्यान्वयन गर्नको लागि देशभर ७ प्रदेश कायम गरिए र २०७४ साल मंसिरमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरियो । देश संघीयतामा गएपछिको पहिलो निर्वाचनबाट सात वटै प्रदेशमा सरकार गठन भए र प्रदेश नं. १ बाहेक ६ वटा प्रदेशको नामाकरणसमेत गरियो । 

पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशको औचित्यबारे प्रश्नहरुसमेत व्यापक मात्रामा उठे र आज सम्पन्न निर्वाचनले संघीयता विरोधी आवाजलाई अझ बलियो बनाउने लक्षण देखा परेको छ । परम्परागत राजनीतिक दलहरुको औचित्य नभएको भन्दै विकल्पका रुपमा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र पार्टी नै गठन गरेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयता बहिस्कार गरेर बहस गर्नु पर्ने संकेत दिएका छन् । 

देश संघीय प्रणालीमा गएको भएता पनि रविले प्रतिनिधिसभाका लागि मात्र सदस्यको उम्मेदवारी मनोनयन गरेर संघीयतालाई अस्वीकार गरेका छन् भने उनले आज प्रतिनिधिसभा सदस्यको लागि मात्र मतदान गरेका छन् । त्यसैगरी गएको बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका साहले पनि प्रतिनिधिसभाका सदस्यको लागि मात्र मतदान गरेका छन् । 

चितवनको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका लामिछानेले आज बिहानै काठमाडौं–३ को महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यको लागि मात्र मतदान गरेका उनले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेशसभा सदस्यको चुनावमा आफू सहभागी नहुने प्रतिक्रिया दिए । 

स्थानीय निकायको निर्वाचनमा काठमाडौंमा बालेन्द्र तथा धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल एवम् अन्य केही वडाहरुमा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उठेर जितेको लहर पछि लामिछानेले गत असार ७ गते आफू नेतृत्वको पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखेका थिए । उनले सोही दिन निर्वाचन आयोगमा प्रस्ताव गरेको पार्टीको नाम र चुनाव चिन्ह घण्टीका विषयमा आयोगमा उजुरी पनि परेको थियो । 

देशव्यापी रुपमा स्वतन्त्रको लौरो अभियान चलाएका अभियन्ताहरुले लामिछानेलाई उक्त पार्टीको नाम दिन नहुने भन्दै उजुरी गरेका थिए । तर, आयोगले लामिछानेले प्रस्ताव गरेको पार्टीको नाम हुबहु दिँदै घण्टी भने गोलाकारभित्रको प्रयोग गर्न अनुमति दियो । लौरो अभियन्ताहरुले स्वतन्त्र उम्मेदवारहरु उठाउन देशव्यापी अभियान चलाईरहेका बेला अनन्तराज घिमिरेले लौरो चुनाव चिन्ह लिएर आयोगमा सुटुक्क हाम्रो नेपाली पार्टी नामक दल दर्ता गरेको खुल्यो । अनि लौरौ अभियन्ताहरु सबै त्यसै दलभित्र आवद्ध भएर उम्मेदवारी दिए । 

लौरो अभियन्ताहरुको त्यस्तो कार्यबाट असन्तुष्ट देखिएका मेयर साह त्यसपछि कतै खुलेर लागेनन् । लौरो अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा साह, साम्पाङ र हमाल कोही पनि उपस्थित भएनन् । साहले कसका पक्षमा भोट माग्लान् भन्ने बहस पनि केही संचार माध्यमले छेडेका थिए । तर, साहले कसैका पक्षमा खुलेर मत पनि मागेनन् । 

आज उनले मतदान गर्दा भने फेरि एउटा प्रश्न गर्न बाध्य भने बनाएका छन् । साहले काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गर्दा प्रदेशसभाका लागि मतदान गर्ने ब्याटल बक्स नै छोएनन् । उनी सरासर मतदान केन्द्र गए । उम्मेदवारका प्रतिनिधिसँग हात मिलाए । प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक मतपत्र लिएर मतदान गरे । अनि, सरासर बाहिरिए ।

त्यसपछि सामाजिक सञ्जालमा फेरि बहस सुरु भएको छ – के साह र लामिछाने एकै विचारका हुन् ? 

स्थानीय सरकारलाई शक्तिसाली बनाउनु पर्ने बताउदै आएका बालेन्द्र आफैं एउटा शक्ति सम्पन्न पालिकाको प्रमुख छन् भने रविको भाग्य र राजनीतिक भविष्य आज खसेको भोटको ब्यालेट बक्समा कैद भएको छ । त्यसको गणना सकिएपछि मात्र उनी सांसद बन्ने या नबन्ने छिनोफानो हुनेछ । रवि सांसदमा विजयी नै भए भने पनि पालिकालाई त्यहाँको अधिकार सम्पन्न सरकार भन्ने बालेन्द्र र सरकार बनाउन अंकगणितको खेल खेलिने संसदको सदस्य बन्ने रविको आगामी दिनमा सहकार्य हुन्छ या हुँदैन र उक्त सहकार्यको तारतम्य मिल्छ या मिल्दैन त्यो भने भविष्यले देखाउनेछ ।   

थप समाचार
//CountDown