NEWSHOUSENEPAL - 1668780241

एमाले बनेका यी उम्मेदवारहरुको पूर्वसहकर्मीसँगको घम्साघम्सीमा कमजोर अंकगणित

  • तुलसी बास्कोटा
  • २ मंसिर २०७९, शुक्रवार

काठमाडौं । आइतबार देशव्यापी रुपमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब दुईदिन पनि पुरा छैन । निर्वाचन आयोगले मौन अवधिलाई लागू गरिसकेको यस अवस्थामा राजनीतिक दल र उम्मेदवारहरुले कुनै पनि किसिमबाट मत माग्न निषेध भएको छ । मतपरिणाम यस्तै आउछ भने अनुमान गर्न कठिनाइ भएको यस पटकको निर्वाचनमा चासोका साथ हेरिएका धेरै पक्षहरु छन् । त्यसमा पनि पूर्वमाओवादीबाट एमाले बनेका नेताहरुको उम्मेदवारी र परिणामको विषय पनि सर्वाधिक चासोमै परेको विषय हो । 

माओवादीबाट एमाले बनेका पार्टी उपाध्यक्ष रामबहादुर थापाले यस पटक निर्वाचनमा उम्मेदवार बन्ने आँट गरेनन् । एमालेले उनलाई काठमाडौं क्षेत्र नं. १० को उम्मेदवारी मनोनयनको टिकट दिएको भए पनि उनले चुनाव लड्न अस्वीकार गरे । धेरैले थापाको ओज घट्दै गएको र हार्ने डरका कारण उनले उम्मेदवारी नदिएको रुपमा अथ्र्याए पनि । 

प्रतिनिधिसभाको निर्वाचनमा चासोकासाथ हेरिएका अर्का पूर्वमाओवादी नेता हुन् एमाले सचिव टोपबहादुर रायमाझी । उनी एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको प्रतिस्पर्धी उम्मेदवारका रुपमा सत्ता गठबन्धनको तर्फबाट पूर्व उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल रहेको कारण पनि यो क्षेत्र चर्चामा छ । यहाँ दुवै उम्मेदवार हेविवेट प्रोफाइलका भएको कारण पनि यो क्षेत्र बढी नै चर्चामा आएको हो । 

अर्घाखाँचीमा गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने सबैभन्दा बढी एमालेले नै मत पाएको छ । जिल्लामा ठूलो दलको हैसियत बनाएको एमालेले ४८ हजार २६० मत पाएको छ । दोश्रो हैसियतमा रहेको नेपाली कांग्रेसको ३७ हजार २५ मत रहेको छ भने नेकपा (माओवादी केन्द्र)को ७ हजार ७९० मत रहेको छ । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पार्टीको ४ हजार २०४ मत रहेको छ भने नेकपा (एकिकृत समाजवादी)को ३ हजार ७३६ मत रहेको छ । 

यहाँ गठबन्धनमा रहेका दलका मतदाता इमान्दार भएमा एमालेका रायमाझीलाई चुनाव जित्न फलामको चिउरा चपाउनु भन्दा पनि कठिन हुने अवस्था देखिएको छ । गठबन्धनमा रहेका दलहरुको कुल मत ५२ हजार ७५५ रहेको छ । यो भनेको एमालेको मतभन्दा ४ हजार ४९५ बढी हो । 

त्यसैगरी माओवादीबाटै एमाले बनेका अर्को उम्मेदवार हुन् कैलाली–४ मा मनोनयन दर्ता गराएका अर्का सचिव लेखराज भट्ट । उनले पनि यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेर प्रचार प्रसार सकाएका छन् । यहाँ उनले गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको सामना गर्नु पर्नेछ । 
यी दुवै उम्मेदवार नेपाली राजनीतिमा प्रभाव राख्न सफल नेताका रुपमा चिनिएको कारणले गर्दा पनि रोचक रहेको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । 

गएको स्थानीय निकाय निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षहरुले ल्याएको मत परिणामलाई हेर्ने हो भने नेपाली कांग्रेस नै सबैभन्दा अगाडि रहेको छ । ठूलो दल नेपाली कांग्रेसले २२ हजार ५०२ मत ल्याउँदा दोश्रो स्थानमा रहेको एमालेबाट वडाध्यक्षमा उठेका उम्मेदवारहरुले कुल २० हजार १६० मत ल्याएका छन् ।
 
यस क्षेत्रमा तेश्रो स्थानमा रहेको माओवादीका उम्मेदवारले १० हजार ५८७ र एकिकृत समाजवादीका उम्मेदवारले ३ हजार १८० मत पाएका थिए । यहाँ सत्ता गठबन्धनमा रहेका दलहरुको कूल मत ३५ हजार ९६९ रहेको छ । यो भनेको एमालेको भन्दा १५ हजार ८ सय भन्दा बढीको फरक हो । यहाँ पनि गठबन्धन दलका मतदाता इमान्दार भएमा गठबन्धनका बलायरले सजिलै निर्वाचन जित्ने सम्भावना देखिएको छ । 

त्यस्तै माओवादीबाट एमालेमा गएका अर्का उम्मेदवार हुन् गौरीशंकर चौधरी । उनले कैलालीकै क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका छन् । यहाँ उनको भिडन्त जनयुद्धका आफ्नै सहकर्मीसँग हुने भएकोले यो निर्वाचन क्षेत्रको प्रतिस्पर्धा पनि रोचक बनेको छ । यहाँ गठबनधनको तर्फबाट नेकपा माओवादी केन्द्रले कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । यहाँ पनि एमाले तथा माओवादीका उम्मेदवारको कडा प्रतिस्पर्धा हुँने आंकलन गरिएको छ । 

गएको स्थानीय निकायको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उठेका वडाध्यक्षहरुको मत हेर्ने हो भने १९ हजार ९९२ मत ल्याएको देखिएको छ । यो क्षेत्रको वडागत मतपरिणाम हेर्दा नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दल रहेको छ । दोश्रोमा माओवादी केन्द्र नै रहेको छ । दोश्रो स्थानमा रहेको माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले ११ हजार ७१६ मत ल्याएका छन् भने तेश्रो स्थानमा रहेको एमालेका उम्मेदवारहरुले ११ हजार २३९ मत ल्याएको देखिएको छ ।  यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले पनि ६ हजार ६९९ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि ५ हजार २४७ मत पाएको छ । सत्ता गठबन्धनमा रहेको एकिकृत समाजवादीले भने यो निर्वाचन क्षेत्रमा २ हजार ३८ मत ल्याएको छ । यहाँ गठबन्धनका उम्मेदवार कृष्ण चौधरकिो पक्षमा ३४ हजार हाराहारी मत देखिँदा एमालेका गौरीशंकरको भने ११ हजार २३९ मत मात्र देखिएको छ । गठबन्धनमा रहेका दलहरुका मतदाता इमान्दार भएमा यो क्षेत्रमा गौरीशंकरलाई गठबन्धनका कृष्णले फराकिलो मतान्तरका साथ जित्न सक्नेछन् । 

अर्को चासोका साथ हेरिएको निर्वाचन क्षेत्र माओवादीको उद्गमस्थलको रुपमा चिनिएको रोल्पा पनि एक हो । यहाँ माओवादीका उपमहासचिव वर्षमान पुनको उम्मेदवारी रहेको छ । पटक–पटक मन्त्री बनिसकेका हेविवेट पुनका विरुद्ध उनकै युद्धचेला पूर्णबहादुर बुढाले धावा बोलेका छन् । माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धका क्रममा पुनकै निर्देशनमा धेरैवटा फौजी कारवाहीमा बन्दुक चलाएका बुढाले पुनलाई नै टक्कर दिएपछि यहाँको चुनावी माहोल थप रोचक बनेको छ । 

स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई हेर्ने हो भने यहाँ माओवादी नै धेरै अगाडि रहेको छ । माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेकाहरुले ४० हजार ७९१ मत ल्याएका छन् भने दोश्रोमा रहेको नेपाली कांग्रेसका उम्मेदवारहरुले २४ हजार ६६४ मत ल्याएका छन् । त्यसैगरी तेश्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवारहरुले १५ हजार ३०१ मत ल्याएको देखिएको छ । यहाँ १ हजार २१८ मत ल्याएर राप्रपाले पनि चौथो स्थान हासिल गरेको छ । गठबन्धनमा आवद्ध एकिकृत समाजवादीले भने जम्मा ९५० मत मात्र पाएको छ । यहाँ सत्ता गठबन्धनको मत ६६ हजारभन्दा बढी देखिएको छ भने एमालेसँग त्यसको एक चौथाई पनि मत देखिएको छैन । एमाले उम्मेदवार बुढाले जितको लागि माओवादीको अधिकांस मत तान्नु पर्ने अवस्था छ । 

त्यस्तै पूर्व माओवादी हुँदै एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका अर्का व्यक्ति हुन् मनोजजंग थापा । उनले सिन्धुली–२ मा नेकपा (माओवादी केन्द्र)का राजन दाहाल विरुद्ध प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । यहाँ गएको स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत हेर्ने हो भने नेकपा एमालेका उम्मेदवारहरुले २१ हजार ४५५ मत ल्याएका छन् । त्यसैगरी दोश्रो हैसियत बनाएको माओवादी केन्द्रका उम्मेदवारहरुले १९ हजार ४८८ तथा नेपाली कांग्रेसका उम्मेदवारहरुले १९ हजार १२८ मत ल्याएका छन् । यहाँ एमाले माओवादी र कांग्रेसभन्दा १७ हजार १६१ मतले पछाडी छ । थापाले यहाँ आफ्नो पक्षमा जित निकाल्नको लागि कांग्रेस र माओवादीको बलियो मत तान्नु पर्ने देखिएकोछ । 

जे होस्, समाज र देशको राजनीतिक व्यवस्था परिवर्तनका लागि भन्दै १० वर्षसम्म सँगै हतियार बोकेर लडेका यी उम्मेदवारहरु अहिले आमने सामने भएका छन् । विगतको राजनीतिक पृष्ठभूमि त्यागेर एमालेमा लागेका उम्मेदवारहरुलाई मतदाताले पत्याएर संसदमा पुर्‍याउछन् या गठबन्धनकै उम्मेदवारलाई जिताउछन्, त्यो थाहा पाउन भने मंसिर ४ गतेपछिको नतिजा कुर्नुको विकल्प छैन । 
 

थप समाचार
//CountDown