NEWSHOUSENEPAL - 1668753862

मौन विश्रामपुरको उदासी

  • न्युज हाउस नेपाल
  • २ मंसिर २०७९, शुक्रवार

 कृष्ण तिमल्सिना 

चुनावको समयमा बाहेक न सरकार देखिएको छ न सरकारले दिने सेवा सुविधा। विश्रामपुरको यो बस्तीले भित्री मधेसको वास्तविक पीडा छर्लङै पार्छ। त्यसैले मौन छ, उदास छ, बाराको विश्रामपुर। 
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ का ८५ वर्षीय अवधेश सहनी, बाँसको चित्रो, काठ र परालले बेरिएको छाप्रो बाहिर बसेर हरेक दिन चुनावी रमिता नियाली रहेका छन् । अस्ति भर्खर यसैगरी हुलका हुल मान्छे आएका थिए, फेरि नयाँ नयाँ अनुहार गाउँ पसेको थियो, विश्रामपुरका सहनी भन्छन्,म त दलित हुँ, मेरो आँगनमा कोही पनि आउँदैन । परैबाट नमस्कार गरेर हिँड्छन् ।

पुरानो खिया लागिसकेको कपडा सिलाउने कल आँगनमा राखेर पुरानो कुर्चीमा टोलाई रहेका  सहनीको छाप्रोमा आजसम्म कोही पसेको छैन । जताततै दुलो परेको पुरानो झुल, कुच्चिएका पुराना भाँडाबर्तन, जताततै टालेको ओढ्नेओछ्याउने र सानो माटोको पानी भर्ने गाग्रो,सहनीको संसार नै यही हो । छोराछोरी सबै लाखापाखा लागिसकेका छन् । मेलापात गरेर कमाउने उमेर गइसकेको छ ।  त्यसैले सहनी यही कलको सहारामा बिहान बेलुकीको सामल जोहो गर्छन् । 

अरुको कपडा, बालबालिकाको झोला, लुंगिधोती टालटुल पारेर जे कमाई हुन्छ त्यसैले थेगेको छ जिन्दगी । बाँसको लौरोको सहारामा हिँडडुल गर्ने उनले आजसम्म आफैँले भोट हालेको छैनन् । नागरिकताको प्रमाणपत्र त छ तर भोट खसाल्ने दिन कसैले मतदान केन्द्रसम्म लैजान्छ र उनलाई देखाएर भोट हाल्छ । यसैगरी नै सहनीको मताधिकार वर्षौँदेखि दुरुपयोग भई रहेको छ  । भोट कसलाई हाल्ने, भोट किन हाल्ने, भोट नहाले के हुन्छ ? भोट हालेर के भयो ? सहनीले केही फरक अनुभूति गरेका छैनन् । न ४० वर्ष पुरानो यो कल फेरिएको छ, न चुहिएको छानो टालिएको छ । न बिरामी पर्दा कसैले औषधी दिन्छ न सहनीले थाप्ने वृद्धभत्ता नै आजसम्म आफैँले बुझ्न पाउएका छन् । वृद्धभत्ता छोराहरूले अघि सरेर बुझ्छन् र घटाएर दिन्छन् । वृद्धभत्ता थाप्ने बेलामा देखापर्ने छोराहरू त्यसपछि कहिल्यै देखिँदैनन्– नेता जस्तै । सहनीले भने,‘यो गाउँको सबै भोट जमिन्दारको आदेश अनुसार एकैठाउँमा खसाल्नुपर्छ ।’

अवधेश सहनीको छाप्रो भन्दा थोरै पर विश्रामपुर कै पढेलेखेका युवा अशोक यादवको पक्की घर छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार किसान श्रेष्ठ सहितको एक हुल भोट माग्न गाउँ पसेको थियो । अवधेशको आँगन नटेकी अशोक यादवको बस्तीमा पुगेको किसान श्रेष्ठको टोलीसँग अशोक यादवले लामो सवाल जवाफ गरे । भोट किन ? यसअघि चुनाव जितेर गएको तपाईंहरू त्यसपछि आज मात्रै गाउँमा देखा पर्नुभएको छ, फेरि तपाईं जस्ता नेतालाई किन जिताउने ? हामीलाई मल किन नदिएको ? हामीले हाम्रो खेतको धान बेच्न बजार लैजाँदा यहाँको स्थानीय सरकारलाई कर तिर्नुपर्ने ? हाम्रो गोठको भैंसी एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कर तिर्नुपर्ने ? खै हामीलाई रोजगारी ? हामी जस्ता युवाले नागरिकता पाएको छैन। गाउँमा पानी छैन। विद्युत् प्राधिकरणले मिटर जडान गरिदिएको छैन, हामी यसरी बिजुली पोलबाट चोरेर बाली रहेका छौं। अशोकले निर्धक्क– हुक गरेर विजुली बालिरहेको देखाउनुभयो । मूल बाटोमा बगिरहेको ढल र फोहोर देखाउनुभयो ।  किसानको पीडा नेता किसानलाई सुनाए र अब भोट नहाल्ने चेतावनी दिए । 

घर दैलोको क्रममा भोट माग्न र पर्चा थमाउन हतारिरहेको प्रचार टोलीमा उनको गुनासो र आक्रोश सुन्ने समय थिएन, त्यसैले किसान श्रेष्ठहरू, यही बस्तीका अर्का दलित रामाज्ञ प्रसाद सहनीको छाप्रो हुँदै अगाडि बढ्यो । सहनी भित्तामा टालेको पर्चा हेरेर भुतभुताइ रहेका थिए । १५ रुपैयाँ किलोमा पाइने मल ६० रुपैयाँ तिरेर धानमा हालेका छौं । अहिले यही धानको मूल्य छैन । भारतीय बजारबाट जसोतसो किनेर ल्याएको मलखाद नेपालमा प्रहरीले खोसेर हातपात गर्छ । यी नेताले केही गर्दैनन्, भोट माग्छ– चुनाव जित्छ, मन्त्री हुन्छ र आफैंलाई कमाउँछ, सहनीको पीडा पनि उस्तै थिया । यी नेताले हामी किसानको खेतीपातीको समस्या कहिल्यै बुझेन, सुनेन । हामीले दलित भनेर हेपिएका सहनीसँगै बसेर लामो भलाकुसारी ग¥यौँ । सँगै एउटै फलैँचामा बसेर चिया पियौ । हामी सँगै बसेर चिया पिउँदा निकै धक मानिरहेका उनको मुहारमा एकाएक खुशी झल्कियो । किनकी आजसम्म उनको समुदाय भन्दा बाहिरको कसैले पनि सहनीलाई मान्छेलाई जस्तो व्यवहार नै गरेको थिएन । त्यसैले यो, त्यही खिन्नता मेटाउने हाम्रो प्रयत्न थियो । उनले राजनीति प्रतिको लामो दिग्दारी बिसाए । उनलाई पनि यो बस्तीमा चोरेको बिजुली बालेको आरोपमा पटक पटक प्रहरीले लगेको रहेछ । 


बारा विश्रामपुर १ का अवधेश, अशोक र रामाज्ञ जस्तै पीडा सरोज यादवको पनि छ । यादव घरमा विजुलीको मिटर जडानका लागि निवेदन लिएर पटक पटक बिद्युत् प्राधिकरण धाए । तर न गाउँपालिकाले चासो दिएको छ न बिद्युत् प्राधिकरणले मिटर दिएको छ । घर अगाडि गाउँपालिकाले जडान गरेको सडक बत्ती २४ सै घण्टा बल्छ । यो बत्ती निभाउने कुनै व्यवस्था छैन ।  स्थानीय सरोज यादवहरू त्यही पोलको नांगो तारमा बाँसको सहायताले तार जोडेर वर्षौँदेखि बत्ती बाली रहेका छन् । वेला बेलामा प्रहरी आएर सबै तार, पानी तान्ने मोटर निकालेर लैजान्छ, केरकार गर्छ, जरिवाना भराउँछ र छाड्छ ।। त्यसपछि पुनः त्यसैगरी बत्ती बाल्नुको विकल्प उनिहरूसँग छैन। हरेक निर्वाचनमा भोट माग्न आउने नेताले बिजुलीपानी र स्वास्थ्य उपचारको आश्वासन दिन्छन्न्– विश्रामपुर १ मा पान दोकान चलाई रहेका सरोज यादव भन्छन्,– भोलीबाट यिनको नाक मुख देखिँदैन, हामी भोट हाल्दैनौं। हाम्रो भोट जमिन्दारहरूले हाल्छन्, त्यसैले यहाँ केही पनि काम भएको छैन । 
 
विश्रामपुरको यो गरिब बस्तीबाट भारतसँगको सिमाना जम्मा ५ किलोमिटर पर छ। स्थानीयहरू भारतीय बजारबाटै बन्दोबस्तीको सामान ल्याउँछन् । न यो गाउँमा पक्की सडकले छोएको छ न बालबालिका पढ्ने विद्यालय खुलेको छ। जमिन मुनिबाट निकालेको रातो पानी पिउनुको विकल्प छैन। गाउँमा पुरै खुला शौचालय देखिन्छ। अधिकांश नागरिकको आधा आङ खाली छ। गाउँमा पक्की घर बन्न सकेको छैन । विश्रामपुर को यही बस्ती भएर बग्ने सानो खोल्सो स्थानीयको शौचस्थल हो भने गाई भैंसी पालेर त्यसको दूध भारतीय बजारमा लगेर बेचेको भरमा वर्षौँदेखि यहाँका नागरिकले गुजारा चलाई रहेका छन्। चुनावको समयमा बाहेक उनीहरूले न सरकार देखेका छन् न सरकारले दिने सेवा सुविधा नै उपभोग गर्न पाएका छन् । विश्रामपुरको यो बस्तीले भित्री मधेसको वास्तविक पीडा छर्लङै पार्छ । जुन नेता र नेतृत्व इमानदार नहुनुको नतिजा हो  ।INS  

थप समाचार
//CountDown